काठमाडौँ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष २७औँ पुष्प प्रदर्शनी ‘फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ। आयोजकका अनुसार प्रदर्शनीमा करिब ६० हजार दर्शक सहभागी हुने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो आयोजना गरिने जानकारी दिएको हो। संघका अनुसार प्रदर्शनी सञ्चालनका लागि बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत निकायको सहयोग रहनेछ। प्रदर्शनीमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धा २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ र विद्युतीय गाडी १ गरी कुल ८३ वटा स्टल रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाबीच विभिन्न विधामा प्रतिस्पर्धा पनि गराइनेछ। उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) लगायत विधामा प्रतियोगिता हुने जनाइएको छ।
प्रतियोगिताको मूल्यांकन चैत ५ गते बिहान विषयविज्ञ प्राविधिक टोलीले गर्नेछ। प्रतियोगितामा उत्कृष्ट हुने व्यवसायीलाई नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। साथै लामो समयदेखि पुष्प व्यवसायमा योगदान पुर्याएका एक जना व्यवसायीलाई कदरपत्रसहित सम्मान गरिने संघले जनाएको छ। प्रदर्शनीमा पुष्प नर्सरी, पुष्प फार्म, पुष्प तथा पुष्पजन्य सामग्री आपूर्तिकर्ता कम्पनीहरू तथा विभिन्न संघ–संस्थाको सहभागिता रहनेछ। मेलामा मौसमी फूल, आलंकारिक बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, बीउबिजन, ग्रीनहाउस, कृषि औजार तथा उपकरण, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी र विभिन्न प्रकारका गमलाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्। प्रदर्शनी स्थलमा फूल तथा बिरुवामा लाग्ने रोग–किराबारे परामर्श दिन ‘प्लान्ट क्लिनिक’ स्टल पनि सञ्चालन गरिनेछ, जहाँ बालिरोग विशेषज्ञको टोलीले सेवा प्रदान गर्नेछ। आयोजकका अनुसार यस्तो प्रदर्शनीले पुष्प व्यवसायीलाई उत्पादनको प्रचार–प्रसार, बजार विस्तार, नयाँ प्रविधिको जानकारी तथा उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।