काठमाडौँ । जेन–जी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबार काठमाडौँको माइतीघर मण्डलामा युवाहरूले अनौठो र प्रभावशाली शैलीमा प्रदर्शन गरेका छन्। जेन–जीहरुले भेला भएका दर्जनौँ युवाहरूले आफ्ना आँखामा कालो पट्टी बाँधेर सडकमै बसी ’मौन विरोध’ प्रदर्शन गरेका हुन्। सरकारले प्रतिवेदन लुकाएर सत्य तथ्यमाथि पर्दा हाल्न खोजेको भन्दै उनीहरूले सांकेतिक रूपमा आँखामा पट्टी बाँधेका हुन्।
हाम्रो रगत किन र कसले बगायो, प्रदर्शनमा सहभागी युवाहरूले बोकेका प्लेकार्डहरूमा सरकारलाई गम्भीर प्रश्नहरू सोधिएका छन्। हाम्रो रगत किन र कसले बगायो, त्यति पनि पढ्ने अधिकार हाम्रो छैन हो सरकार, आँशुको रङ त हुँदैन, प्रतिवेदन केले छेक्यो? जस्ता पर्चा बोकेर मौन विरोध गरेका हुन् । उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ भन्दै आँखामा कालो पट्टी बाँधेर मौन विरोध गरेका हुन ।
गत भदौमा भएको ठुलो जनआन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र दमनको छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको भए तापनि सरकारले यसलाई हालसम्म सार्वजनिक गरेको छैन।