काठमाडौँ । समानुपातिकमा सिट पाएका ६ वटै राजनीतिक दलहरूले आफूले पाएको सिट सङ्ख्या अनुसार बन्द सूचीमा रहेका नाम छानेर निर्वाचन आयोगमा बुझाएका छन् ।
आयोगले बिहीबार समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै ३ प्रतिशत थ्रेस होल्ड कटाउने राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनौट गरी पेस गर्न पत्राचार गरेको थियो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ प्रतिशत थ्रेस होल्ड कटाउने ६ वटा दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फको सिट पाएका थिए ।
यो निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ रास्वपाले सबैभन्दा बढी ५७ सिट पाएको छ भने कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् ।
उनीहरुले पाएको सिटअनुसार आयोगले बिहीबार पत्राचार गरेपछि दलहरूले आइतबार नाम बुझाएका हुन् । निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले ६ वटै राजनीतिक दलले आइतबार नाम बुझाइसकेकाले ती नाम रुजु गर्ने काममा आयोग लागेको जानकारी दिए ।