काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ’जेन–जी’ आन्दोलनका क्रममा भएको दमन र जनधनको क्षतिको छानबिन गर्न गठित ’कार्की आयोग’को प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
’जेन–जी मुभमेन्ट अलायन्स’ का अभियन्ताहरूले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको प्रतिवेदन सरकारले गुपचुप राख्न खोजेको भन्दै खबरदारी गरेका हुन्। प्रदर्शनकारीहरूले “के, कसरी र को सम्बन्धी पारदर्शिता?“, “कार्की आयोगको पूरा प्रतिवेदन खोइ?“, र “यो बलिदान खेर नजाओस“ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए ।
प्रदर्शनमा सहभागी जेन्जी अगुवाहरुले आयोगले गत फागुन २४ गते नै प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाइसके पनि सरकारले हालसम्म यसलाई सार्वजनिक नगरेको भन्दै सर्वजनिक गर्न माग गरेका हुन । प्रदर्शनकारीहरूले प्रतिवेदनको सारांश मात्र नभई पूर्ण पाठ र यसका सिफारिसहरू सार्वजनिक हुनुपर्ने माग गरेका छन्।
प्रदर्शनमा सहभागी एक अभियन्ताले भने, “हाम्रा साथीहरूले रगत बगाएर ल्याएको परिवर्तन र न्यायको खोजीमा बनेको आयोगको प्रतिवेदन दराजमा थन्काउन पाइँदैन। सरकारले कसलाई जोगाउन खोजिरहेको छ, हामी जान्न चाहन्छौँ।“
पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले आफ्नो प्रतिवेदनमा कुशासन र सरकारी निकायको अक्षमताका कारण उक्त दुखद घटना भएको औँल्याएको स्रोतले जनाएको छ। तर, प्रतिवेदनमा नाम उल्लेख गरिएका उच्च पदस्थ व्यक्तिहरूलाई बचाउन सरकारले ढिलाइ गरिरहेको आरोप प्रदर्शनकारीहरूको छ।
आजको प्रदर्शनमा वर्षाको बाबजुद पनि युवाहरूको उल्लेख्य उपस्थिति थियो। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।