काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले १६ वर्षीया बालिका इनिसा विकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसँग माग गरेको छ। मोर्चाका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्।
साथै, मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक र मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपूर्ति सुनिश्चित गर्न पनि माग गरेको छ।ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
उनले मुलुकमा दण्डहीनताको अन्त्य आवश्यक रहेको भन्दै कुनैपनि आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवार रहेको बताए। घटना सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल विरेन्द्रनगर–१ बसोवास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत इनिसा विकसँग सम्बन्धित छ।
बालिका गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न घरबाट बाहिर गएको र पछि घर नफर्किएपछि खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेको थियो। दलित मुक्ति मोर्चाले ज्ञापन–पत्रमा बालिकाको बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिएको उल्लेख गर्दै दोषीलाई छिटो कानुनी कारवाही गर्न माग गरेको छ।