काठमाडौँ । जेनजी आन्दोलन भएको ६ महिनापछि सरकारले आन्दोलनमा घाइते भएकाहरूको असली विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २३ र २४ गते भएको आन्दोलनका घाइतेहरूको उपचार गरिएका अस्पतालबाट प्राप्त विवरण मूल्यांकन गरी असली घाइतेहरूको विवरण संकलन गरेको बताएको छ।
मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा.प्रकाश बुढाथोकीका अनुसार देशभरका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेहरूको उपचार गरिएको थियो। उनका अनुसार, असोज ३१ गते दुई हजार ५२२, माघ ४ गते ७७ र फागुन २९ गते थप ३९ जना घाइतेको विवरण चरणबद्ध रूपमा गृह मन्त्रालयमा पठाइएको थियो। सबैभन्दा धेरै घाइते नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा ४५८ जना, त्यसपछि राष्ट्रिय ट्रमा सेन्टरमा १९० जना, नेपाल पुलिस अस्पतालमा २०३ र त्रिवि शिक्षण अस्पतालमा १०८ जनाको उपचार भएको थियो। हालसम्म घाइतेहरूको उपचारमा ७ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।
डा. बुढाथोकीका अनुसार यो रकम अस्पतालहरूको रिपोर्टमा आधारित हो र अझै बढ्न सक्नेछ किनभने घाइतेहरू चिकित्सकको निगरानीमा फलोअपमा रहेका छन्। अहिलेसम्म ३७१ घाइतेको वर्गीकरण प्राविधिक समितिले सम्पन्न गरेको छ। घाइतेहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ। वर्गीकरण अनुसार अति गम्भीर २३, गम्भीर २१, मध्यम २३ र अन्य सामान्य घाइते रहेका छन्। घाइतेहरूको चोटपटकको आधारमा परिचयपत्र उपलब्ध गराइ आजीवन सेवा सुविधा प्रदान गर्ने व्यवस्था समेत गरिएको मन्त्रालयले जनाएको छ। जेनजी आन्दोलनमा परी ७६ जनाले ज्यान गुमाएका थिए, जसमा अस्पताल पुगेपछि वा उपचारको क्रममा मृत्यु हुने संख्या ४९ जना रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।