काठमाडौँ । स्रोत नखुलेको नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१ स्थित जय नेपाल हल नजिकबाट शनिबार राति प्रहरीले १० लाख ६३ हजार ८४० रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौँको कपनमा बस्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले हिटी पोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा।प्र ०२–०५२ प ६९९४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम फेला पारेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।