काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। शनिबार जारी गरेको विज्ञप्तिमा सङ्गठनले जेन्जी आन्दोलनका क्रममा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
उनीहरूले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने बताएका छन्। सङ्गठनले पारदर्शिता र उत्तरदायित्वको माग गर्दै आन्दोलनको प्रतिवेदन गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य भएको उल्लेख गरेको छ।
सत्य लुकाएर वा दोषीलाई संरक्षण गर्दै कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोज्नु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने सङ्गठनको भनाइ छ। जेन्जी मुभमेन्ट नेपालले प्रतिवेदन सार्वजनिक भएपछि मात्र नयाँ सरकार गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको छ। सङ्गठनले आज माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिने बताएको छ। साथै देशभर एकैसाथ विरोध प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान पनि गरेको छ।