काठमाडौँ । हरेक वर्ष मार्च १५ का दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् २०२६ का लागि यस दिवसको मूल नारा “सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता” तय गरिएको छ।
यसले उत्पादनको सुरक्षा सुनिश्चित गर्ने, जोखिमयुक्त वस्तुहरूमाथि कडा नियमन गर्ने तथा भौतिक र डिजिटल दुवै बजारमा उपभोक्ताको विश्वास बढाउने विषयमा जोड दिएको छ। सुरक्षित उत्पादनले उपभोक्तामा भरोसा र आत्मविश्वास बढाउने सन्देश यस वर्षको विषयवस्तुले दिएको छ। सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन एफ। केनेडीले उपभोक्ताका चार आधारभूत अधिकार—सुरक्षा, सूचना प्राप्त गर्ने, छनोट गर्ने र सुनुवाइ पाउने–घोषणा गरेको सम्झनामा यो दिवस विश्वभर मनाउन थालिएको हो। नेपालमा पनि उपभोक्ता अधिकार र हितसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदै छ।