काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको कामपाका प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए ।
ग्यास अभाव हुने आशंकामा उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको उनको भनाइ छ । ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्ने उनले बताए ।
पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन भएर पनि छैन भनी सवारीसाधनलाई उपलब्ध नगराउने सूचना आएको जनाउँदै उनले यसमा महानगरले निगरानी थालेको बताए । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा कामपाले निगरानी गर्नेछ ।
ग्यास बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । उनले सञ्चितिका लागि माग नगर्न उपभोक्तासँग आग्रह गरे ।