काठमाडौँ । नेपाल प्रहरीले प्रतिनिधि सभा निर्वाचनका लागि खटिएका ’निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) लाई निर्वाचन प्रहरीको पोशाकमा बनाएका भिडियोे सामाजिक सञ्जालमा नराख्न बताएको छ । नेपाल प्रहरीले एक सुचना जारी गर्दै यदि त्यस्तो भिडियो राखिएको छ, भने भिडियो हटाउन आग्रह गरेको छ ।
प्रहरीले निर्वाचन प्रहरीलाई औपचारिक रूपमा बिदाइ गरिसकेको छ। प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै निर्वाचन ड्युटीका क्रममा लगाइएको प्रहरी पोशाक प्रयोग गरी खिचिएका कुनै पनि फोटो वा भिडियोहरू फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको हो।
नेपाल प्रहरीको पोशाकमा अनुमति बिना फोटो वा भिडियो सार्वजनिक गर्नु नियम विपरीत कार्य भएको स्पष्ट पार्दै प्रहरीले यसअघि नै सामाजिक सञ्जालमा अपलोड गरिएका ’अशोभनीय’ र मर्यादा विपरीतका सामग्रीहरू तत्काल हटाउन समेत निर्देशन दिएको छ। निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीहरूलाई आधिकारिक रूपमा बिदाइ गरिसकिएकाले अब सो पोशाकको कुनै पनि अनधिकृत वा व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगर्न सचेत गराइएको छ।
सामाजिक सञ्जालमा सुरक्षा निकायको छविमा आँच आउने खालका गतिविधि बढ्दै गएपछि प्रहरीले यस्तो कदम चालेको हो। यसरी नियम उल्लंघन गरी प्रहरी पोशाकको दुरुपयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत प्रहरी प्रशासनले चेतावनी दिएको छ।
