काठमाडौं । मोरङमा गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ ।
पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । उनीहरू शुक्रबार दिउँसो १ बजे त्यहाँ हिँडिरहेका बेला प्रहरीले शंका गरेर झोला जाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।