काठमाडौँ । नेपाल–भारत विद्युत आदान–प्रदान समिति (पिइसी)को १७औँ बैठक फागुन २८–२९ गते पोखरामा सम्पन्न भयो। बैठकले आगामी एक वर्षका लागि भारतका विभिन्न राज्यबाट नेपालले विद्युत आयात गर्ने दर तय गरेको छ।
बैठकमा नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, र भारततर्फ केन्द्रीय विद्युत प्राधिकरण (सिइए) का बोर्ड सदस्य विजय कुमार सिंहले नेतृत्व गरे। सहमतिको क्रममा बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट विद्युत आयात गर्ने विषयमा समझदारी भएको छ। दुई दिने वार्तामा भारतले आफ्नो लागत बढेको भन्दै ५.५ प्रतिशत दर वृद्धि प्रस्ताव गरेको थियो, तर नेपालको अध्ययनले भारतीय बजारमा दर घटेको देखाएकोले कम वृद्धि गर्नुपर्ने तर्क राखियो। अन्ततः गत वर्षको दरमा केवल १।५ प्रतिशत वृद्धि गर्ने सहमति भयो। यस अनुसारः१३२ केभी प्रसारण लाइनबाट खरिद हुने विद्युत प्रति युनिट ८.२२ रुपैयाँ ३३ केभी स्तरमा प्रति युनिट ८.९१ रुपैयाँ ११ केभी स्तरमा प्रति युनिट ९.५५ रुपैयाँ विद्युत खरिद दर संरचनाको विषयमा आगामी वर्ष फेरि वार्ता गर्ने सहमति पनि भएको छ।
यस सहमतिले आगामी चैत–वैशाख महिनामा पर्ने सुख्खा मौसममा विद्युत आपूर्तिको सुनिश्चितता गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल नेपालले दैनिक करिब १२–१४ हजार मेगावाट घण्टा विद्युत आयात गरिरहेको छ भने आगामी दिनमा परिमाण बढ्ने अनुमान छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव संजीव राय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव शेखर सुमनको पनि सहभागिता रहेको थियो। अन्त्यमा, दुवै पक्षले यस सहमतिले नेपाल–भारतबीचको ऊर्जा सहकार्य मजबुत बनाउने र दुई देशबीचको दीर्घकालीन मैत्री थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।