काठमाडौँ । उपत्यकमा प्रदूषण अच्याधिक बढेको छ । प्रदूषण बढेपछि काठमाडौँ विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा सूचीकृत भएको छ । वायु गुणस्तर कायम गर्ने एअर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार सोमबार बिहान साढे ७ बजेको समयमा काठमाडौँको एक्यूआई १८९ सम्म पुगेको थियो ।
पाकिस्तानको लाहोर ३०६ एक्यूआईसहित विश्वकै प्रदूषित शहरको पहिलो नम्बमा छ भने भारतको दिल्ली २०२ एक्यूआईसहित दोस्रो नम्बरमा छ । विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । १०१ देखि १५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । उपत्यकाको वायु प्रदूषण आइतबारदेखि बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्दै गएको हो ।