काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमल्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल आजबाट सम्पन्न भएको छ ।
२०७७ साल फागुन २५ गते नियुक्त भएका उनीहरूको कार्यकाल २०८२ साल फागुन २४ गते राति १२ बजेदेखि औपचारिक रूपमा समाप्त हुनेछ ।
अब रिक्त हुने यी पदहरूमा नयाँ नियुक्तिको प्रक्रिया सुरु हुनेछ । नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा १६ को व्यवस्था अनुसार, रिक्त पदको दोब्बर संख्यामा अर्थात् चारजना गभर्नरले सिफारिस गर्न पाउने प्रावधान छ ।
यसरी सिफारिस भएका व्यक्तिहरूमध्येबाट नेपाल सरकार मन्त्रिपरिषद्ले नयाँ डेपुटी गभर्नरहरूको नियुक्ति गर्ने निर्णय गर्छ । अब बन्ने नयाँ सरकारले नै आगामी नियुक्तिहरू गर्ने सम्भावना रहेको स्रोतले संकेत गरेको छ ।
आफू भोलिदेखि निवृत्त हुने जानकारी दिँदै मिश्रले आफ्नो कार्यकालमा भएका कामहरूको जस राष्ट्र बैंकको समग्र टिमलाई जाने बताए । उनले आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धिहरूका रूपमा डिजिटलाइजेसन र डिजिटल बैंकिङ, बैंकिङ पहुँचको विस्तार, विदेशी मुद्रा व्यवस्थापनजस्ता क्षेत्रमा उपलब्धिमुलक काम गर्न सफल रहेको बताए ।
डेपुटी गभर्नर डा. तिमल्सिना र मिश्रको कार्यावधि सकिएसँगै अब गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले चारजनालाई सिफारिस गर्नेछन् । नीतिगत रुपमा हाल कार्यरत १८ जना कार्यकारी निर्देशक डेपुटी गभर्नरका लागि योग्य हुन् । तर, यसमध्ये गभर्नरको रोजाईमा चारजना पर्नेछन् ।
केन्द्रीय बैंकको विभिन्न विभागअन्तर्गत कार्यकारी निर्देशकमा नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, सत्येन्द्र तिमिल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल रामशरण खरेल, डा.डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन् ।
गभर्नर प्रा.डा. पौडेलको नजरमा पर्नेमध्ये दुईजनाले अबको पाँच वर्षको कार्यकाल सम्हाल्ने छन् ।राष्ट्र बैंक ऐन २०५८को दफा १६ अनुसार, डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्नेछ ।