काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्।
मुलुकले झेलिरहेको जटिल राजनीतिक परिस्थितिले यस निर्वाचनमार्फत निकास पाएको भन्दै उनले वर्तमान अवस्थाप्रति सन्तोष प्रकट गरेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासको यो महत्त्वपूर्ण खुड्किलो पार हुनुलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।
निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र राष्ट्रसेवक कर्मचारीहरूप्रति राष्ट्रपतिले विशेष आभार प्रकट गरेका छन्।
साथै, आफ्नो मताधिकार प्रयोग गरी लोकतन्त्रलाई मजबुत बनाउने आम मतदाता र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि उनले धन्यवाद दिएका छन्। सबै पक्षको सामूहिक प्रयास र सक्रियताले नै यो राष्ट्रिय जिम्मेवारी पूरा हुन सम्भव भएको उनको ठम्याइ छ।