काठमाडौँ । नेपालको आर्थिक वृद्धि दर औसतमा करिब ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको म्याक्रोइकोनोमिक प्रतिवेदनअनुसार १९८६ देखि १९९५ सम्मको दशकलाई आर्थिक विस्तारको कालखण्ड मानिएको छ, जहाँ औसत वृद्धि दर ४.३ प्रतिशतभन्दा माथि पुगेको थियो।
त्यसयता आर्थिक वृद्धि सम्भावित स्तर वरिपरि स्थिर रहे पनि औद्योगिक क्षेत्र भने क्रमशः कमजोर बन्दै गएको प्रतिवेदनमा उल्लेख छ। पछिल्लो दशकमा नेपालको अर्थतन्त्र औसत ४.२ प्रतिशतले बढेको छ। भूकम्पपछि पुनर्निर्माण गतिविधि बढ्दा आर्थिक वृद्धि २०७३–७४ मा ९ प्रतिशत पुगेको थियो। तर कोभिड–१९ महामारीका कारण अर्थतन्त्र ऋणात्मक वृद्धिमा गएको र त्यसपछि वृद्धि दर ५ प्रतिशतभन्दा तल सीमित रहेको छ। अर्थतन्त्रको संरचनामा सेवा क्षेत्रको प्रभुत्व बढ्दै गएको छ।
कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रको हिस्सा करिब ६२ प्रतिशत पुगेको छ। निजी उपभोगमा आधारित माग प्रणाली कायम रहे पनि निजी लगानी भने पछिल्ला वर्षहरूमा घट्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ। समग्र अर्थतन्त्र पुनरुत्थानको दिशामा देखिए पनि कोभिडअघिको अवस्थामा पुग्न अझै समय लाग्ने अनुमान गरिएको छ।