काठमाडौँ । चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ लाई केही दिन यता धाक धम्कि आइरहेको जनाएको छ । कमेडी नाइट विथ च्याम्पियन्सका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएका हुन् । निर्देशक भण्डारीका अनुसार केही दलका नेता कार्यकर्ताले च्याम्पियन्सलाई धाक धम्की दिइरहेको जनाएको हो ।

नेकपा एमालेका सचिव महेश बस्नेतलाई कार्यक्रममा अतिथिको रूपमा बोलाएपछि भण्डारीले उत्पन्न विवादप्रति प्रतिक्रिया दिएका हुन् । आफूहरूलाई हरेक पटक एउटा दलको बोलाउदा अर्को पक्षबाट सामाजिक सञ्जालमा आक्रमण हुँदै नै आइरहेको र अहिले पनि ट्रेलर हेरेकै भरमा विभिन्न धाक धम्की आइरहेको निर्देशक भण्डारीको भनाई छ ।
उनले प्रश्न गर्न बोल्न र हसिमजाक गर्न पाउने समाजको परिकल्पना गर्दै परिवर्तन खोजेको भन्दै बिचारलाई साइडमा राखेर कार्यक्रमलाई प्रजातान्त्रिक स्वरुपमा उभाएर निष्पक्ष रुपमा सञ्चालन गर्न रोक्ने छेक्ने र धम्काउने क्रियाकलाप नगर्न आग्रह गरेका छन् । उनले उक्त धाक धम्किको क्रम नरोकिए कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी पनि दिएका छन् । ट्रेलर सार्वजनिक भएपछि फेसबुक, युट्युब लगायतका माध्यममा प्रतिक्रियाहरू दिने दर्शकहरू विभाजित देखिएका छन् । कतिपयले कार्यक्रमले पैसाका लागि विवादास्पद व्यक्तिलाई स्थान दिएको र युवाहरूको आन्दोलनको अपमान गरेको आरोप लगाएका छन् ।