काठमाडौँ । अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्ट फेब्रुअरी २० मा नेपाल आउने भएका छन् । अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको सम्भाव्यता अध्ययनका लागि युरोपबाट नेपाल आउन लागेको जनाइएको छ । उनको भ्रमणले नेपालमा अन्तरिक्ष विज्ञान र अनुसन्धानको क्षेत्रमा नयाँ बहस तथा अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
डा. भट्ट अन्तर्राष्ट्रियस्तरमा परिचित खगोल भौतिकशास्त्री हुन् । उनले युरोपका विभिन्न अनुसन्धान संस्थासँग आबद्ध भई ग्रह नक्षेत्र अध्ययन, गहिरो अन्तरिक्ष अवलोकन तथा आधुनिक टेलिस्कोप प्रविधिमा अनुसन्धान गर्दै आएका छन् । उनले भ्रमणका क्रममा विभिन्न शैक्षिक तथा वैज्ञानिक कार्यक्रममा सहभागिता जनाएका साथै ‘नेपाल पनि अन्तरिक्ष युगतर्फ’ विषयमा विशेष प्रवचन दिने कार्यक्रम तय भएको छ ।
उनको सहभागितामा मुख्य कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पोलिस विश्वविद्यालयको सहकार्यमा नेपालमा टेलिस्कोप जडान गर्ने योजनामा केन्द्रित रहने जनाइएको छ । कार्यक्रमको समन्वय बीपी मेमोरियल अब्जर्भेटरीका कार्यकारी निर्देशक डा. नत शर्माले गर्ने भएका छन् ।
विशेषज्ञहरूका अनुसार यस पहलले नेपालमा वैज्ञानिक पूर्वाधार विकास, प्राविधिक दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।