काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढेसँगै समाजमा असन्तुष्टि बढ्ने बताएका छन् ।
क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजेड प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
विश्वका धनी देशमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै भने- ‘आर्थिक वृद्धि प्रारम्भिक चरणमा स्थायित्व बढाउँछ, तर वृद्धि बढ्दै गएपछि अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउँछ । नेपालमा आर्थिक वृद्धिदर अलिकति बढ्न थालेपछि अस्थिरता देखिन्छ । अवसर कहाँ गए, कसले पाए भन्नेमा असन्तुष्टि पैदा हुन्छ । त्यसैले उदारीकरण गर्दा धनी हुने मानिसहरूको अवस्था राम्रोसँग बुझाउनु जरुरी छ ।’
उनका अनुसार नेपालमा उदारीकरण नीतिका कारण केही व्यक्तिहरू धनी हुँदै आएका छन्, तर यसलाई समाजमा राम्ररी बुझाउन नसक्दा समस्या उत्पन्न भएको छ । विशेष गरी नेपालमा नवप्रवर्तन आधारित सम्पत्ति कमाउनेभन्दा लाइसेन्स र आयातमा आधारित सम्पत्ति संचित गर्ने परिपाटीले असमानता झन् देखिने गरेको उनले बताए ।