काठमाडौं । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) सप्ताहका लागि बजारमा आवश्यक गुलाबको करिब ७० प्रतिशत भारतबाट आयात हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रणय दिवस सप्ताहभर ४ लाख ५० हजार स्टिक गुलाबको माग रहनेछ । एसोसिएसनको अनुमानअनुसार उपत्यकामा २ लाख ७० हजार र उपत्यका बाहिर १ लाख ८० हजार स्टिक गुलाब खपत हुनेछ । कुल मागमध्ये करिब ३० प्रतिशत मात्रै आन्तरिक उत्पादनबाट पूर्ति हुने र बाँकी ७० प्रतिशत अभाव हुने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका महासचिव हिरामणी शर्माका अनुसार विभिन्न रोगको जोखिम देखाउँदै सरकारले गुलाब आयातमा ‘क्राइटेरिया’ राखेकाले औपचारिक आयात कठिन भएको छ । “औपचारिक रुपमा आयात हुने अवस्था छैन, व्यापारीले अनौपचारिक तवरबाट गुलाब भित्र्याउन सक्छ,” उनले बताए ।
यस वर्ष प्रणय दिवस सप्ताहमा ५ करोड ६२ लाख रुपैयाँ बराबरको गुलाब कारोबार हुने अनुमान गरिएको छ । फूलको गुणस्तरअनुसार प्रति स्टिक १०० देखि १५० रुपैयाँसम्म उपभोक्ता मूल्य पर्ने अनुमान गरिएको छ । एसोसिएसनका अनुसार नेपालमा गुलाब उत्पादन मौसमअनुकूल मात्र हुने भएकाले जाडोयाममा उत्पादन घट्ने गर्दछ । फेब्रुअरीमा चिसो मौसम रहने हुँदा गुलाब उत्पादनमा कमी आउने र त्यसले आयातमा निर्भरता बढाउने जनाएको छ । “गर्मीमा आत्मनिर्भर छौं, जाडोयाममा परनिर्भर,” शर्माले भने, “उच्च प्रविधिको ग्रीनहाउस आवश्यक पर्छ, तर महँगो भएकाले हाम्रोमा सम्भव छैन ।”
गत वर्ष प्रणय दिवस सप्ताहमा ३ लाख ५० हजार स्टिकको अनुमान भए पनि ४ लाख १२ हजार स्टिक गुलाब खपत भएको एसोसिएसनको तथ्यांक छ । त्यसबेला करिब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेपालमा गुलाबको व्यवसायिक खेती काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक र रुपन्देहीमा हुँदै आएको छ भने अन्य जिल्लामा पनि विस्तार भइरहेको एसोसिएसनले जनाएको छ ।