काठमाडौँ । इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपाली भाषाको क्याप्सनसहित गीत पोस्ट गरेपछि यसको चर्चा सामाजिक सञ्जालमा व्यापक भएको छ । नेपाल प्रहरीका प्रमुख (आइजीपी)दानबहादुर कार्कीले रचना गरेको‘आँखा झिमझिम भो’ बोलको गीत उक्त पेजमा राखिएको छ ।
साथै इन्टर मिलानले ब्राजिलका फुटबल लिजेन्ड रोनाल्डोले ट्रफी उचालेको दृश्यसहितको भिडियो राखेको छ ।इन्टर मिलानले भिडियोको क्याप्सनमा लेखेको छ, ‘सबैभन्दा महानस् रोनाल्डो ‘द फेनोमेनन’ नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् ।’
नेपाली गीत विश्वचर्चित क्लबको आधिकारिक पेजमा देखिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । आइजीपी कार्कीले रचना गरेको‘आँखा झिमझिम भो’ बोलको गीत गज्जब टिभी युट्युब च्यालनबाट जुन २८ तारिकमा सार्वजनिक भएको गीत हो ।