काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडले आज (बिहीबार) देखि आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी २ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि, २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको ३३ करोड ३० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ३३ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कमपनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।