काठमाडौँ । लुम्बिनी प्रदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित चिनियाँ कम्पनी जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेड ले प्रदेश सरकारसँग सहकार्य प्रस्ताव गरेको छ। कम्पनीले ५० वटा उत्पादनमूलक उद्योग स्थापना गर्ने लक्ष्यसहित समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गर्न प्रस्ताव अघि सारेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चोङ ले १ फेब्रुअरी २०२६ मा लुम्बिनी प्रदेश सरकारलाई पठाएको पत्रमार्फत औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ तथा चीन निर्यात प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन्। पत्रअनुसार कम्पनीको प्रतिनिधिमण्डलले लुम्बिनी भ्रमण गरी प्रदेश सरकारसँग प्रत्यक्ष छलफल र एमओयूमा हस्ताक्षर गर्ने योजना बनाएको छ। प्रस्तावित एमओयूमा तीन मुख्य क्षेत्र लुम्बिनी भित्र ५० उत्पादन मूलक उद्योग स्थापना, नेपाली उत्पादनको विकास, उत्पादन र ब्रान्डिङ र चीनमा नेपाली उत्पादनको निर्यात प्रवर्द्धन गर्ने रहेको जनाइएको छ
प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थी का अनुसार लुम्बिनीमा विदेशी लगानी आकर्षण सरकारको प्राथमिकतामा रहेको र आएको प्रस्तावलाई गम्भीर रूपमा अध्ययन गरिने तयारी भइरहेको छ। अर्थविद्हरूका अनुसार प्रस्ताव कार्यान्वयनमा गएमा रोजगारी, आयात प्रतिस्थापन, निर्यात वृद्धि र स्थानीय उत्पादन विस्तार मा सकारात्मक प्रभाव पर्न सक्छ। तर यसका लागि स्पष्ट कार्ययोजना, पारदर्शिता र दीर्घकालीन प्रतिबद्धता आवश्यक हुने उनीहरूको सुझाव रहेको छ।
यसैबीच चीन र मलेसियाका लगानीकर्ताहरूले रुपन्देही केन्द्रित उद्योग क्षेत्रमा लगानीको सम्भावना देखाउँदै फोहोरमैला प्रशोधन मार्फत उत्पादन र निर्यात गर्ने योजना अघि सारेका छन्। रुपन्देही उद्योग संघसँग समेत उनीहरूले लगानी वातावरणबारे छलफल गरेको बताइएको छ।