काठमाडौँ । नेपालमा एभरेष्ट टुरिजम अवार्ड र वर्ल्ड पिस समिटको संयुक्त आयोजना हुने भएको छ। ए.एम.एस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिकाे आयोजनामा आगामी मे २९ मा काठमाडौंमा भव्य समारोहका बीच यी दुई कार्यक्रम एकसाथ आयोजना गरिने आयोजकले जनाएकाे छ । आयोजकका अनुसार सगरमाथामा मानवले पहिलो पटक पाइला टेकेको ऐतिहासिक दिनको सम्झनामा कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।
काठमाडौंमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजक संस्था ए.एम.एस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालि की अध्यक्ष सत्य कला तामाङ लामा ले एभरेष्ट टुरिज्म अवार्ड २०२६ लाई नेपालको पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणलाई एउटै मञ्चमा जोड्ने अभियानको रूपमा अघि बढाउने बताएकी हुन । उनले दिगो पर्यटन बिना हिमाल सुरक्षित रहन नसक्ने र हिमाल सुरक्षित नभएसम्म नेपालको पहिचान दीर्घकालीन रूपमा कायम रहन नसक्ने उल्लेख गर्दै ठूलो उत्साहका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन्।
अध्यक्ष लामाका अनुसार यस पटक एभरेष्ट टुरिजम अवार्डको दोस्रो संस्करण आयोजना हुन लागेको हो। यसअघि सम्पन्न पहिलो संस्करणमा पर्यटन, पर्वतारोहण, संस्कृति, पत्रकारिता, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको र त्यसले समाजमा सकारात्मक सन्देश दिएको आयोजकले दाबी गरेको छ ।संस्थाका प्रमुख सल्लाहकार नाम्गेल शेर्पा ले अवार्ड मार्फत पर्वतारोहण क्षेत्रमा प्रत्यक्ष योगदान दिने पर्वतारोही, पर्यटन मजदुर, आइसफल डाक्टर, बाटो निर्माणकर्ता लगायत पर्यटनलाई सशक्त बनाउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिने बताएका छन्। साथै पर्यटन पत्रकारिता, शिक्षा, अनुसन्धान, नीतिगत योगदान तथा संस्थागत पहलमार्फत पर्यटन प्रवर्द्धनमा योगदान दिनेहरू पनि अवार्डको दायरामा पर्ने उनले जानकारी दिएका छन्।
यसैगरी संस्थाका प्रबन्ध निर्देशक फुर्वा ग्याल्वो मोक्तान ले “वर्ल्ड पिस समिट” को महत्व र आवश्यकतामा जोड दिँदै सम्मेलनमा विभिन्न देशका शान्ति दूतहरूको उपस्थितिमा हिमाल, वातावरण, पर्यटन, शिक्षा र संस्कृतिलाई विश्व शान्तिसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा गम्भीर संवाद हुने बताए। आयोजकका अनुसार एभरेष्ट टुरिजम अवार्ड र वर्ल्ड पिस समिटले नेपाललाई पर्यटन र शान्ति संवादको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।