काठमाडौँ । हिमाली जिल्ला डोल्पामा तीन सय २८ मेघाबाट क्षमताको अर्ध जलाशययुक्त जल विद्युत आयोजना निर्माण हुने भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने छार्काताङ्सोङ् गाउँपालिकामा भारबुङ तातु खोलामा जलविद्युत् आयोजना निर्माण हुने भएको हो। आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्विकृतीको प्रक्रिया अगाडि बढाएको छ ।
विभागका उप(महानिर्देशक गोकर्णराज पन्थले आयोजना निर्माणका लागि फिजिबिलिटी अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएर पनि स्विकृतीको चरणमा रहेको बताए । अर्ध जलाशययुक्त प्रकृतिको सो आयोजनाको दुबै प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित वन तथा वातावरण मन्त्रालयमा पेस भएको पन्तले जानकारी दिए ।
उनका अनुसार उक्त आयोजना निर्माणका लागि नेपाल सरकारकै लगानीमा चारपाँच वर्ष लगाएर अध्ययन गरिएको हो। जर्मनीको फिसमार कम्पनी र नेपालको हाइड्रो कम्पनीले संयुक्त रुपमा अध्ययन गरेका हुन् ।
उक्त आयोजनामा भारबुङ र तातु खोलाको पानी प्रयोग गर्नुका साथै छार्काताङ्सोङ् र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण गरिने छ । विभागका अनुसार भारबुङ् नदीबाट ३ सय २५ मेगावाट क्षमता विद्युत उत्पादन हुनेछ ।
आयोजनाको कुल लागत ४ अर्ब ३९ करोड ३० लाख अनुमान गरिएको छ। यसअघि डोल्पामै १ सय ६ मेघाबाट क्षमताको जगदुल्ला हाइड्रोपावर निर्माणकै चरणमा छ ।