बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र बाग्लुङले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सन्तलाखेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए ।
पहिले कोदो, मकै, गहुँलगायतका खाद्य बाली लगाउने बारीमा हिजोआज सुन्तलाखेती गर्न थालिएको प्रमुख पुन मगरले बताए । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषकहरू सुन्तलाखेतीप्रति आकर्षित भएको उनी बताउछन्। यस वर्ष चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए । किसानले न्यूनतम रु प्रतिकिलो रु ६५ ले बिक्री गरेको उनको भनाइ छ ।
उनले भने, “पछिल्लो समय सुन्तलाखेतीप्रति धेरै किसान आकर्षित हुनुभएको छ, पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्, हरेक वर्ष सुन्तलाखेती हुने क्षेत्रफल बढ्दै गएको छ, कोदो, मकै, गहुँ र फापर फल्ने बारी हिजोआज सुन्तलाका बोटले ढाकिएका छन्, धेरै झन्झट नहुने, कम मेहनतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ ।”
विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ ।