काठमाडौँ । विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनले विश्वभर करिब १६ हजार कर्मचारी हटाउने निर्णय गरेको छ। पछिल्लो तीन महिनाभित्र कम्पनीले गरेको यो दोस्रो ठूलो संख्याको कर्मचारी कटौती हो।
कम्पनीले आफ्ना बाँकी रहेका भौतिक स्टोरहरू, किराना तथा ‘गो मार्केट’ बन्द गर्ने जनाएको छ। ग्राहकको हत्केला स्क्यान गरेर भुक्तानी गर्न मिल्ने ‘अमेजन वान’ प्रविधि पनि अब प्रयोगमा नल्याइने भएको छ।
यसअघि सन् २०२५ को अक्टोबरमा अमेजनले करिब १४ हजार पद कटौती गरेको थियो। पछिल्लो निर्णयसँगै कम्पनीबाट रोजगारी गुमाउनेको संख्या ३० हजार नाघेको छ। अमेजनकी वरिष्ठ उपाध्यक्ष बेथ गलेतीले जारी गरेको आन्तरिक सूचनामा कार्यसम्पादनमा बाधा पुर्याउने पद र प्रणाली घटाउँदै दक्षता बढाउने लक्ष्य रहेको उल्लेख गरेकी छन्।
कोभिड महामारीका बेला अनलाइन किनमेल बढेपछि अमेजनले ठूलो संख्यामा कर्मचारी नियुक्त गरेको थियो। तर बजार अवस्था परिवर्तन भएसँगै सन् २०२२ र २०२३ मा पनि कम्पनीले करिब २७ हजार जनशक्ति घटाएको थियो।
रोयटर्सका अनुसार यो कटौती अमेजनका खुद्रा सेवा मात्र होइन, वेब सर्भिस (AWS), अलेक्सा, प्राइम भिडियो, डेलिभरी र विज्ञापनजस्ता विभिन्न विभागमा लागू गरिएको हो। हाल कम्पनीमा करिब १५ लाख ८० हजार कर्मचारी कार्यरत छन्।
अमेजन मात्र होइन, पछिल्ला वर्षहरूमा अन्य ठूला प्रविधि कम्पनीहरूले पनि कर्मचारी घटाउने नीति अपनाइरहेका छन्। माइक्रोसफ्टले सन् २०२५ मा करिब ९ हजार कर्मचारी हटाएको थियो भने इन्टेलले केही वर्षभित्रै करिब २२ हजार रोजगारी कटौती गरेको जनाएको छ। मेटा र गुगलले पनि विभिन्न विभागमा कर्मचारी संख्या घटाउँदै एआई र क्लाउड क्षेत्रमा लगानी बढाइरहेका छन्।
विश्लेषकहरूका अनुसार यो प्रवृत्ति आर्थिक दबाबका कारण मात्र नभई प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित पुनःसंरचनाको संकेत हो। एआई र स्वचालन प्रविधिमा लगानी बढेसँगै परम्परागत र म्यानुअल कामका भूमिकाहरू घटाइँदै गएका छन्।
श्रम बजारसम्बन्धी अध्ययनहरूका अनुसार सन् २०३० सम्म एआईका कारण करोडौँ रोजगारी जोखिममा पर्न सक्ने अनुमान गरिएको छ। यद्यपि, एआईकै क्षेत्रमा नयाँ रोजगारी पनि सिर्जना भइरहेको विश्व आर्थिक मञ्चले जनाएको छ। मञ्चको पछिल्लो प्रतिवेदनअनुसार यस दशकमा प्रविधि, नवीकरणीय ऊर्जा र डिजिटल सेवामा आधारित करिब १७ करोड नयाँ रोजगारी थपिने सम्भावना छ।
यसैबीच अमेजन, मेटा, माइक्रोसफ्ट र अन्य प्रविधि कम्पनीहरूले आगामी वर्षहरूमा पनि कर्मचारी कटौतीलाई निरन्तरता दिने संकेत गरेका छन्। यसले विश्वव्यापी श्रम बजारमा पुनःसंरचना तीव्र गतिमा भइरहेको देखाउँछ।