काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारले दङ्गा नियन्त्रणका उपकरण तथा विभिन्न सवारी साधनहरू नेपाल सरकारलाई उपलब्ध गराएको हो।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि पर्याप्त बजेट व्यवस्था गर्न कठिनाइ भइरहेको अवस्थामा भारतको सहयोगले लोकतान्त्रिक प्रक्रिया सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए। उनले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा उल्लेख गर्दै सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको स्मरण गरे।
जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधन क्षतिग्रस्त भएकाले प्राप्त नयाँ सवारी साधनले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ। अर्थमन्त्री खनालले यी सामग्री सरकार आफैंले खरिद गर्नुपरेको भए ठूलो आर्थिक भार पर्ने अवस्था रहने उल्लेख गर्दै भारतीय सहयोगले त्यो भार कम भएको बताए।
उनले नेपाल–भारत सम्बन्ध छिमेकी मुलुकबीचको सम्बन्ध मात्र नभई विकास साझेदारीको रूपमा समेत अघि बढिरहेको जनाउँदै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप कुल ६ सय ५० वटा सवारी साधन उपलब्ध गराउने जनाएको छ। तीमध्ये २ सय ५० वटा सवारी साधन बिहीबार हस्तान्तरण गरिएको र बाँकी सवारी साधन आगामी साताभित्र उपलब्ध गराइने भारतीय पक्षले जानकारी दिएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निर्वाचन प्रयोजनका लागि भारत सरकारले अनुदानमा प्रदान गरेका सवारी साधन स्वीकार गरिएको स्पष्ट पारे।