काठमाडौं । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार (माघ १२) काठमाडौंमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाका पदाधिकारीले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल समेत उपस्थित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पाँच लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्र गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताए ।
अध्यक्ष ढकालले बैंकिङ पहुँच र यसको प्रयोग देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्र नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको उल्लेख गरे ।
यस्तो सीमा तोकिनुका पछाडि नेपाल सम्पत्ति शुद्दीकरणसम्बन्धी विषयमा ‘ग्रे लिस्ट’मा रहेकाले सरकार र केन्द्रीय बैंकमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब परेको हुन सक्ने उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले भन्सार प्रशासन राष्ट्रिय अर्थतन्त्र र व्यापार सहजीकरणका निम्ति अत्यन्त महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने आवश्यकता औँल्याए । उनले विद्यमान भन्सार ऐनमा रहेका दण्ड–जरिवानासम्बन्धी व्यवस्था कठोर र अव्यावहारिक रहेको आरोप लगाए ।
अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर कायम गरिनुपर्नेमा जोड दिए । नेपाललाई वैवाहिक कार्यक्रमका निम्ति उत्कृष्ट गन्तव्य (वेडिङ डेस्टिनेसन)का रूपमा विकास गर्न त्यसनिम्ति देशमा भित्र्याइने सामग्रीमा भन्सार सहजीकरण हुनुपर्ने उनले बताए । साथै, पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट मात्र गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको उनको भनाइ थियो ।