काठमाडौं । साउदी अरबमा जाने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकको अधिकार सुनिश्चित गर्न नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा आइतबार रियादमा हस्ताक्षर भएको छ। दुई देशबीच श्रम सम्झौता गर्न एक दशकदेखि प्रयास भइरहेको थियो।
सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजीले हस्ताक्षर गरेका छन् । अल–राजीले सन् २०१८ देखि मानव संसाधन मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् । नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ । अब खाडी देशमध्ये कुवेतसँग मात्रै सम्झौता हुन बाँकी छ । ओमनसँग भने मस्यौदामा सहमति भइसकेको छ ।
गत जेठ अन्तिम साता जेनेभामा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच घरेलु श्रमिकसम्बन्धी सम्झौतालाई बाँकी राखेर सामान्य श्रम सम्झौता गर्ने सहमति भएको थियो । घरेलु श्रमिकसम्बन्धी सम्झौताका लागि थप गृहकार्य गर्ने मन्त्रालयले जनाएको छ ।
सम्झौताले साउदीको श्रम बजारमा जाने नेपाली श्रमिकलाई थप अवसर प्रदान गर्ने, मानव तस्करीबाट जोगाउन पारदर्शी भर्ना प्रक्रियालाई प्राथमिकता दिने तथा श्रमिक र रोजगारदाताको अधिकारलाई सम्मान गर्ने विश्वास गरिएको छ ।