भैरहवा । भन्सार सेवामा सुधार गर्दै आयात–निर्यातकर्तालाई सहजता प्रदान गर्न नीति, प्रविधि, पूर्वाधार र जनशक्ति विकास आवश्यक रहेको सरोकारवालाले बताएका छन्। भन्सारको कार्यक्षमता बढाउन कार्यालयले सक्रिय पहल गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
लुम्बिनी प्रेस क्लबले भन्सार दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा उद्योगी तथा व्यवसायीले वैज्ञानिक भन्सार महसुल प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले वैज्ञानिक महसुल बिना बजार र उद्योगको आम्दानी सुधार हुन नसक्ने बताए। नेपाल र भारतबीच मूल्य अन्तर ठूलो रहेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न कठिन भएको उनको भनाइ छ।
भारतले जीएसटी घटाएपछि मूल्य झन् घटेको र खुला सिमानाका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको उनले बताए। उद्योगीका अनुसार भारतबाट आउने सवारी साधनको भन्सार प्रक्रिया पूरा गर्न अझै २–३ दिन लाग्ने समस्या छ। पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले नियम र व्यवहार फरक–फरक हुँदा उद्योगीलाई समस्या परेको बताए।
उनका अनुसार कच्चा पदार्थ र मेसिनरी आयात गर्दा भारतको नौतनुवासम्म रेलबाट ल्याउन सस्तो भए पनि त्यहाँबाट उद्योगसम्म ढुवानी खर्च दोब्बर पर्छ। भैरहवामा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) मा रेल सेवा सुरु नभएसम्म उद्योगी मर्कामा पर्ने उनको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले बेलहिया नाकाको व्यवस्थापन कमजोर हुँदा तस्करी बढेको बताए। भारतीय बजारमा व्यापार चहलपहल रहे पनि नेपालतर्फ बजार सुनसान हुँदै गएको उनको भनाइ छ।
उद्योगी गणेश अधिकारीले भन्सारमा बिना चलखेल सामान पास हुने वातावरण बनाउनुपर्ने बताए भने संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले तस्करी नियन्त्रण नै मुख्य चुनौती भएको उल्लेख गरे।
भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले आवश्यक कागजात नपुगेको अवस्थामा मात्र सामान रोक्ने गरिएको स्पष्ट पारे। परम्परागत प्रणाली सुधार गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्रीले उद्योगीका गुनासाप्रति गम्भीर रहेको बताउँदै प्रहरीले कसैलाई दुःख दिने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। मिलेमतोमा अवैध काम गर्ने प्रवृत्तिविरुद्ध कडाइ गरिने उनले बताए।