काठमाडौँ । चर्चित नृत्य कलाकार तेरिया मगरको पहिलो फिचर फिल्म अभिनय रहने चलचित्र मितज्यू को छायांकन दाङको घोराहीबाट सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर एक महिनाको तालिकासहित शुक्रबारदेखि सुटिङ थालिएको हो। छायांकन सुरु गर्नु अघि टोलीले दाङस्थित अम्बिकेश्वरी मन्दिरमा पूजाआजा गरेको थियो। फिल्मको छायांकन १० दिन दाङ र २० दिन रोल्पाका सुलीचौर, सातदोबाटो र जेलबाङ क्षेत्रमा गर्ने तयारी छ। निर्माता जनक घर्तीमगरका लागि यो दोस्रो फिल्म हो। यसअघि उनले ‘घरज्वाइँ’ निर्माण गरेका थिए।
सोही फिल्ममा निर्देशकीय सहकार्य गरेका अनिल बुढामगरले नै ‘मितज्यू’ निर्देशन गरिरहेका छन्। छायांकन सुरु गर्दै निर्माता घर्तीमगरले नेपाली ग्रामीण परिवेश र कथावस्तु दर्शकले फेरि पर्दामा देख्न पाउने विश्वास व्यक्त गरेका छन्। फिल्म आगामी १५ जेठमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। चलचित्रमा तेरियासँगै दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, सुवर्ण थापा, अस्मिता लामिछाने, खड्गबहादुर पुन र अरुण पुनको अभिनय रहनेछ। ग्रामीण भेगमा चल्ने जीप चालकको कथामा आधारित यो फिल्मको छायांकन शिशिर बिशंखेले गरिरहेका छन्। तेरिया मगर भारतीय टेलिभिजन रियालिटी शो डान्स इन्डिया डान्स लिल मास्टर्स र झलक दिखलाजा की विजेता हुन्। यसअघि उनले सन् २०२२ को भारतीय वेब सिरिज उनकी यारी र सन् २०२३ को क्याम्पस बिट्स मा अभिनय गरिसकेकी छन्। ‘मितज्यू’ तेरियाको पहिलो नेपाली फिचर फिल्म हुनेछ।