काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल राजपत्र तथा आयोगको आधिकारिक वेबसाइटमार्फत आचारसंहिता सार्वजनिक गरिएको हो। सो आचारसंहिता मिति २०८२/१०/०४ देखि लागू भई आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म प्रभावकारी रहने जनाइएको छ।
आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका निकाय र पदाधिकारी, संवैधानिक निकाय, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, विकास साझेदार संस्था, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, औद्योगिक तथा व्यावसायिक क्षेत्रका पदाधिकारी तथा कर्मचारीलगायत सबै सरोकारवाला पक्षमा लागू हुने आयोगले स्पष्ट पारेको छ।
यसैगरी निर्वाचन प्रक्रियासँग सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, अनुगमन समिति र अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सामाजिक संस्था, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदाता, आयोजना सञ्चालन गर्ने सरकारी तथा अर्धसरकारी निकायका कर्मचारीसमेत आचारसंहिताको दायराभित्र रहने उल्लेख गरिएको छ।
निर्वाचन आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालना गर्न सबै सम्बन्धित व्यक्ति, संस्था तथा निकायको सहयोग अपेक्षा गरेको छ। आयोगका अनुसार आचारसंहिताको उल्लङ्घन भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमार्फत लोकतान्त्रिक निर्वाचन प्रक्रिया सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरिएको छ।

