काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले आज (आइतबार)देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन सुरु गरेको छ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने ४० करोड रुपैयाँको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ। प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
आवेदन माघ ८ गतेसम्म, अवधि थपिन सक्ने
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन माघ ८ गतेसम्म खुला रहनेछ। सो अवधिभित्र सम्पूर्ण सेयरका लागि आवेदन नपरेमा निष्कासन अवधि माघ १८ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।
रेटिङ, बिक्री प्रबन्धक र आवेदन प्रक्रिया
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन डबल बी माइनस (IRN BB-) इस्युअर रेटिङ’ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।