काठमाडौं । नेपाली विद्यार्थीलाई बंगलादेशमा उपलब्ध चिकित्सा शिक्षाबारे जानकारी दिन राजधानीमा ‘बंगलादेश मेडिकल एजुकेसन फेयर–२०२६’ आयोजना गरिएको छ। उक्त मेला नेपालस्थित बंगलादेश दूतावास र बंगलादेश प्राइभेट मेडिकल कलेज एसोसिएसन (BPMCA) को सहकार्यमा सम्पन्न भएको हो।
मेलामा बंगलादेशका २० निजी मेडिकल कलेज सहभागी थिए। सहभागी कलेजका प्रतिनिधिहरूले नेपाली विद्यार्थी तथा अभिभावकलाई बंगलादेशमा चिकित्सा अध्ययनका अवसर, अध्ययन प्रणाली, शैक्षिक शुल्क, छात्रवृत्ति, आवास सुविधा र अन्य आवश्यक विषयमा जानकारी दिएका थिए।
उद्घाटन कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल–बंगलादेशबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई स्मरण गर्दै शिक्षा, विशेषगरी चिकित्सा शिक्षाको क्षेत्रमा सहकार्य क्रमशः विस्तार हुँदै गएको बताए। उनले गुणस्तरीय शिक्षा, पर्याप्त क्लिनिकल अभ्यास, तुलनात्मक रूपमा सुलभ शुल्क, आधुनिक चिकित्सा पूर्वाधार र अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्रीका कारण बंगलादेश विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरे।
राजदूत रहमानका अनुसार बंगलादेशको चिकित्सा पाठ्यक्रम र परीक्षा प्रणाली क्यानाडाली ढाँचामा आधारित छ, जसलाई दक्षिण एसियामा प्रभावकारी मानिन्छ। भाषा र सांस्कृतिक परिवेशमा नजिकोपन भएकाले नेपाली विद्यार्थीले त्यहाँ सहज रूपमा अध्ययन गर्न सक्ने उनले बताए। साथै, विभिन्न रोगको उपचारमा प्रत्यक्ष अनुभव लिन पाइने भएकाले विद्यार्थीले व्यावहारिक क्लिनिकल ज्ञान हासिल गर्ने अवसर पाउने उनको भनाइ थियो।
बंगलादेशबाट चिकित्सा शिक्षा हासिल गरेका नेपाली चिकित्सकहरूले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको उल्लेख गर्दै उनले त्यहाँबाट उत्पादन भएका स्नातकोत्तर चिकित्सकहरूको स्तर अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य रहेको बताए। शिक्षा सहकार्य प्रवर्द्धन र जनस्तरको सम्बन्ध मजबुत बनाउन दूतावास प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
उद्घाटन सत्रमा द्यएःऋब् का महासचिवले बंगलादेशको चिकित्सा शिक्षा प्रणालीबारे विस्तृत प्रस्तुति दिँदै शैक्षिक मापदण्ड, पाठ्यक्रम संरचना, क्लिनिकल अभ्यास र विद्यार्थी सहयोग सेवाबारे जानकारी गराए। संघका पूर्व अध्यक्षले पनि सम्बोधन गर्दै गुणस्तरीय शिक्षा कायम राख्न र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा संस्थाको भूमिकाबारे धारणा राखेका थिए।
मेलाका क्रममा विद्यार्थी र अभिभावकले बंगलादेशी मेडिकल कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाए। उनीहरूले भर्ना प्रक्रिया, योग्यता, अध्ययन कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति, आवास सुविधा र बंगलादेशमा विद्यार्थी जीवनसम्बन्धी जानकारी प्रत्यक्ष रूपमा प्राप्त गरेका थिए।