काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफुहरुमाथी ठुलो षड्यन्त्र भएको बताएका छन् । शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्दै ठुलो षड्यन्त्र भएको बताएका हुन् ।
‘हामीलाई षड्यन्त्रपूर्वक ढंगले जुन हिसाबले हामीलाई भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गराइयो । त्यो हाम्रो गम्भीर आपत्तिको विषय छ । अहिले पनि हामी माग गर्छौं, उम्मेदवारी दर्ता गर्न दिनुपर्छ ।’
यस्तै उनले करिब १२ दिन कोमामा बस्नुपरेको बताए । उनले भने, ‘उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपरेको थियो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो सुरुङभित्र १२ दिनसम्म बस्दा हामीले धेरै ठूलो क्षति व्यहोर्न परेको थियो । आज त्यो हिलोबाट हामी सफा, शुद्ध र उर्जाशिल भएर निस्केका छौं ।’
त्यस्तै अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गरे । पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उनले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गरे ।