काठमाडौं – माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वटाले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाइएको हो।
सात वटा बैंकले भने व्यक्तिगत मुद्दती खाताको अधिकतम ब्याजदर यथावत् राखेका छन्। यसबीच प्राइम कमर्सियल बैंकले मात्रै ब्याजदरमा सामान्य वृद्धि गर्दै ४.२५ प्रतिशतबाट ४.४ प्रतिशत पुर्याएको छ।
पुसमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५५ प्रतिशत थियो भने माघमा सर्वसाधारणले पाउने अधिकतम ब्याजदर ५.५ प्रतिशतमा झरेको छ। औसत ब्याजदर पनि ४.८५ प्रतिशतबाट घटेर ४.७ प्रतिशतमा सीमित भएको छ।
हाल निक्षेपमा सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमइ बैंकले ५.५ प्रतिशत दिने जनाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सबैभन्दा कम ४.३६ प्रतिशत मात्र उपलब्ध छ।
रेमिटेन्स खातामा भने बैंकहरूले व्यक्तिगत मुद्दती खाताभन्दा करिब एक प्रतिशतले बढी ब्याज दिने व्यवस्था गरेका छन्।
पछिल्लो समय बैंकहरूसँग कर्जा दिन मिल्ने रकम अत्यधिक बढेपछि ब्याजदरमा निरन्तर गिरावट देखिएको हो। हाल बैंकिङ प्रणालीमा करिब ११ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी योग्य रकम रहेको बताइएको छ।
कर्जा प्रवाह सुस्त भएपछि बैंकहरूले अतिरिक्त रकम २.६७ देखि ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकमा राखिरहेका छन्। राष्ट्र बैंकले जारी गरेको एक वर्षे ऋणपत्रमार्फत बैंकहरूको अतिरिक्त रकम सोस्ने काम भइरहेको छ, जसअनुसार हाल यस्तो रकम ८ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूले ७६ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने त्यसमध्ये ५७ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी भइसकेको छ।


