काठमाडौं । १८ महिनापछि मंगलबार त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्वोन्द्राङ बेसीनजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्टपुर्जा फेला परेको थियो ।
पार्टपुर्जा देखिएपछि सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते ०८१ असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।
गणपति डिलक्समा सवार ३१ जनामध्ये तीनजनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । सो मध्ये १४ जनाको शव फेला परेको थियो । अन्य हालसम्म बेपत्ता छन् ।