काठमाडौँ । संयुक्त विद्यार्थी संगठन र ६ कम्युनिस्ट पार्टीहरूले २९ पुसमा आह्वान गरिएको उपत्यका बन्द सफल बनाउन सबैमा अपिल गरेका छन्। उनीहरूले वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्था राष्ट्रिय स्वाधीनता, जनजीविकाका सवालमा असफल भएको दाबी गर्दै निर्वाचन बहिष्कारको निर्णयप्रति समर्थन जनाएका छन्।
सङ्गठनहरूले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ कि पछिल्लो ‘नवयुवा पुस्ताको विद्रोह’ केवल नयाँ सरकार वा निर्वाचनको मागमा सीमित नभई आर्थिक असमानता, शोषण, उत्पीडन, भ्रष्टाचार, बेरोजगारी र परनिर्भर व्यवस्थाविरुद्ध केन्द्रित रहेको छ। तर यस विद्रोहलाई हाइज्याक गर्दै पुरानो संसदीय निर्वाचनलाई विकल्पको रूपमा अघि बढाउनु विद्रोहको उद्देश्यसँग मेल खाँदैन। वक्तव्यमा शिक्षा क्षेत्रमा बढ्दो निजीकरण, व्यापारीकरण र माफियाहरूको कब्जाका कारण आम विद्यार्थीको भविष्य अन्धकारमय भएको उल्लेख छ। वर्तमान संसदीय व्यवस्थाले विद्यार्थीका समस्या समाधान गर्न सक्दैन, र शिक्षालाई व्यापारको वस्तु बनाउने व्यवस्था अन्त्य नभएसम्म समस्या समाधान सम्भव छैन भनी उनीहरूले निष्कर्ष निकालेका छन्।
यसै सन्दर्भमा, ठूलो खर्चमा गरिने निर्वाचनले केवल पात्र फेर्ने काम मात्र गर्ने र आम जनता तथा विद्यार्थीको जीवनमा मौलिक परिवर्तन नल्याउने भएकाले संयुक्त विद्यार्थी संगठन र ६ कम्युनिस्ट पार्टीहरूले गरेको निर्वाचन बहिष्कारको निर्णयप्रति समर्थन जनाइएको छ। उनीहरूले २९ पुसको उपत्यका बन्दका क्रममा सबै शिक्षण संस्था, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय र सरकारी–गैरसरकारी कार्यालय बन्द गरी सहयोग गर्न अपिल गरेका छन्। साथै आम युवा–विद्यार्थीलाई निर्वाचन बहिष्कारका कार्यक्रमहरूमा सक्रिय सहभागी भई दलाल संसदीय व्यवस्थाबाट मुक्त भएर स्वाधीन संयुक्त जनसरकार र जनसंविधान निर्माणको अभियानमा हातेमालो गर्न आग्रह गरिएको छ।