काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ ज्वाला संग्रौलाले उज्यालो नेपाल पार्टीका तत्कालीन संरक्षक कुलमान घिसिङलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेकी छन्। उनले फेसबुकमा लेखेकी छन्, “धेरै भाग खोजियो भने भोकै परिन्छ है साथीहरु।”
रास्वपा, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ र उज्यालो नेपाल पार्टीबीच भएको एकता भंग भई कुलमान घिसिङ उक्त सहकार्यबाट बाहिरिएपछि संग्रौलाले यस्तो टिप्पणी गरेकी हुन्। यद्यपि उनले नामै तोकेर कसैलाई उल्लेख नगरे पनि उनको स्टाटस हालैको राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ।
राजनीतिक वृत्तमा संग्रौलाको उक्त अभिव्यक्तिलाई एकताको असफलतापछि देखिएको आन्तरिक असन्तुष्टि र आरोप–प्रत्यारोपको संकेतका रूपमा लिइएको छ। विशेष गरी वैकल्पिक राजनीतिका नाममा भएको सहकार्य पद र भूमिकाको विवादमा टुटेको भन्ने चर्चाबीच उनको टिप्पणी आएको हो।
रास्वपा स्रोतहरूका अनुसार एकता प्रक्रियाका क्रममा जिम्मेवारी र भूमिकालाई लिएर सहमति जुट्न नसकेको थियो। यही असहमतिका कारण कुलमान घिसिङ सहकार्यबाट अलग भएको बताइँदै आएको छ। ज्वाला संग्रौलाको सामाजिक सञ्जाल प्रतिक्रिया सोही सन्दर्भप्रति लक्षित रहेको बुझाइ राजनीतिक विश्लेषकहरूको छ।
उक्त टिप्पणीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले संग्रौलाको अभिव्यक्तिलाई स्पष्ट सन्देशका रूपमा लिएका छन् भने केहीले वैकल्पिक राजनीतिमा सार्वजनिक कटाक्षले नकारात्मक सन्देश जाने टिप्पणी गरेका छन्।
एकतामार्फत नयाँ राजनीतिक विकल्प निर्माण गर्ने भनिएको प्रयास छोटो समयमै विफल भएपछि यसले वैकल्पिक शक्तिको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। ज्वाला संग्रौलाको टिप्पणीले भने यो विवाद अझ सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ।