काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।
८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व दाहालको उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल लैजाने क्रममा शुक्रबार साँझ निधन भएको हो ।
उनको शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र त्यसपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार गरिनेछ । दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ रहेकी छिन् ।
दाहालका दुई छोरा डा. सुधाम्शु र हिमाम्सु छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहेका दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए ।
२०६१ मा कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यभार सम्हालेका दाहाल नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजकका रूपमा पार्टीको विचारधारालाई प्रवर्धन गर्न सक्रिय रहेका थिए।