काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन बुधबार घटेको नेप्से बिहीबार ४.५९ अंकले बढ्दै २६४०.५४ विन्दुमा पुगेर बन्द भएको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ कम्पनीका सेयरहरू ६९ हजार २६१ पटक कारोबार हुँदा कुल ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ । यस दिन सान्भि इनर्जी लिमिटेडको सेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले उक्लिएको छ । त्यसैगरी, एसवाई प्यानल नेपालको सेयरमूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ भने घटेका सेयरहरूको गिरावट ४ प्रतिशतभित्र सीमित देखिएको छ । कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदा सो कम्पनीको बिहीबार २० करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा बन्दीपुर केबलकार एण्ड टुरिजम रहँदा यसको कारोबार रकम साढे १७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछि सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहमा गिरावट देखिएको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह हरियाली देखिएका छन् ।