काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन करिब २ महिना बाँकी रहेका बेला नेताहरूको दिल्ली दौड तीव्र भएको छ ।नेपालमा चुनावी माहोल बढ्दै जाँदा सानातिना कार्यक्रममा सहभागी हुने भ्रमण तालिका बनाएर नेपाली नेताहरू एकपछि अर्को दिल्ली जान थालेका हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई भारतबाट फर्किए लगत्तै नेकपा संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल दुई दिने दिल्ली यात्रा सकेर सोमबार राति फर्किएका छन् । दाहाल काठमाडौँ फर्किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै गर्दा कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा त्यहाँ अवतरण गरिसकेकी थिइन् ।
प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी उपचारका लागि आइतबार साँझ दिल्ली पुगेका छन् । त्यस्तै एक सार्वजनिक कार्यक्रममा भाग लिन रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले पनि बिहीबार दिल्ली जाँदै छन् ।
भ्रमणमा डा.भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिएका थिए। त्यसपछि उनी नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा आयोजित दक्षिण एसियाली जनसहभागिता प्रमुख वक्ताका रूपमा सहभागी भएर फर्किएका थिए। दिल्लीमा रहँदा भट्टराईले नेपालमा राजतन्त्र फर्किने सम्भावना शून्य रहेको दाबी गर्दै भारतीय मिडियाहरूलाई अन्तर्वार्ता दिएका थिए।
दाहाल पार्टीको प्रवासी सङ्गठनको कार्यक्रममा सहभागी हुन दिल्ली गएको भनिए पनि भारतीय शक्तिकेन्द्रसँग छलफलमा केन्द्रित भएका थिए । प्रचण्डले पनि पार्टी निकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा जाने देखावटी कार्यक्रम तय गरे पनि दाहालले दिल्ली रहँदा आइतबार र सोमबार दुई महत्त्वपूर्ण भेटघाट गरेका थिए।
कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री देउवा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा उनी दिल्ली पुगेको केही नेताहरूको भनाइ छ । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाइसकेका छन् । प्रत्यक्षतर्फ ६ माघमा उम्मेदवारी मनोनयन हुने कार्य तालिका छ । यही सेरोफेरोमा नेताहरूको दिल्ली दौडाहा सुरु भएको हो ।