काठमाडौँ । ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले रेशम उद्योगमार्फत देशको जीडीपीमा वार्षिक ५ खर्ब रुपैयाँसम्म आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले २२ हजार हेक्टर जमिनमा किम्बु खेती गरी त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके यस्तो आम्दानी सम्भव हुने अनुसन्धानले देखाएको जानकारी दिए। रेशम विश्वकै उच्च मूल्यको कृषि–औद्योगिक उत्पादनमध्ये पर्ने उल्लेख गर्दै उनले रेशम कपडा र पोशाकबाट ठूलो आर्थिक लाभ लिन सकिने बताए।
उपयुक्त भूमि, अनुकूल हावापानी र श्रम उपलब्ध हुँदाहुँदै पनि नीति, लगानी, प्रविधि र बजार व्यवस्थापनको कमजोरीका कारण नेपालमा रेशम उद्योग सक्रिय हुन नसकेको उनको भनाइ छ। पोखरेलले रेशम उद्योगले ग्रामीण रोजगारी सिर्जना, युवा तथा महिला आत्मनिर्भरता, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि बताए।