काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा रेशम न्यौपानेलाई नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–११ निवासी न्यौपानेलाई संस्थाको दीर्घकालीन रणनीतिक लक्ष्य, संस्थागत सुदृढीकरण तथा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त पदमा नियुक्त गरिएको जनाइएको छ। अभियान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका - ४ मा अवस्थित छ।
वित्तीय क्षेत्रमा २४ वर्षभन्दा बढीको अनुभव हासिल गरेका न्यौपानेले लघुवित्त तथा बैंकिङ व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। यसअघि उनी साधना लघुवित्त वित्तीय संस्थामा दुई कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। साधना लघुवित्त र सम्पदा लघुवित्तबीचको मर्जरपछि उनले सम्पदा लघुवित्त वित्तीय संस्थामा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसीईओ) को जिम्मेवारी सम्हाल्दै संस्थाको व्यवस्थापन र विस्तार प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका थिए।
कर्मचारी व्यवस्थापन, संगठनात्मक अनुशासन तथा कर्मचारी उत्प्रेरण (मोटिभेसन) का क्षेत्रमा कुशल र अनुभवी नेतृत्वकर्ताका रूपमा चिनिने न्यौपानेको नियुक्तिसँगै अभियान लघुवित्तको समग्र व्यवस्थापन क्षमता, सेवा प्रवाह र संस्थागत सुदृढीकरणमा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
संस्थाले न्यौपानेको अनुभव, नेतृत्व क्षमता तथा कार्यदक्षताले अभियान लघुवित्तलाई आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।