काठमाडौँ । अस्ट्रेलियाको शीर्ष महिला फुटबल लिग निन्जा ए–लिग मा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आबद्ध वेलिङटन फोनिक्सले लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार भएको खेलमा वेलिङटनले वेस्टर्न सिड्नी वेन्डरर्स एफसीलाई ३–० गोल अन्तरले पराजित गर्यो। खेलमा साम्बाले एक गोल गर्दै अर्को गोलका लागि सहयोगी पास (असिस्ट) प्रदान गरिन्। खेलको सातौँ मिनेटमा मेनको गोलमार्फत वेलिङटनले अग्रता लिएको थियो। दोस्रो हाफको ४८औँ मिनेटमा साम्बाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। त्यसपछि ५२औँ मिनेटमा मेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्, जसमा साम्बाको उत्कृष्ट पास निर्णायक बन्यो। साम्बाले वेलिङटनका लागि लगातार दोस्रो खेलमा गोल गर्न सफल भएकी हुन्।
यसअघि सिड्नी एफसीविरुद्ध ७–० को फराकिलो जित निकाल्दा उनले दुई गोल गरेकी थिइन्। लगातार दुई जितसँगै वेलिङटन फोनिक्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। सात खेलबाट ३ जित र २ बराबरीसहित उसले कुल ११ अंक जोडेको छ। ११ टोली सहभागी रहेको लिगमा वेलिङटन फोनिक्स न्युजिल्यान्डबाट प्रतिस्पर्धा गर्ने एकमात्र टोली हो भने बाँकी १० टोली अस्ट्रेलियाका छन्।