काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ। उक्त सूचीमा चर्चित कलाकार प्रकाश सपुतदेखि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसम्मका नाम समेटिएका छन्।
रास्वपाले सोमबार विभिन्न समूह र क्लस्टरलाई समेट्दै करिब ११० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको हो। पार्टीका अनुसार बन्दसूची समावेशी सिद्धान्तअनुसार तयार गरिएको छ। आदिवासी जनजाति समूहअन्तर्गत पुरुषतर्फ पहिलो स्थानमा डा.राम रामा परेका छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्ल पाँचौँ स्थानमा सूचीकृत छन्। यसै समूहको महिलातर्फ टासी लाजोम शीर्ष स्थानमा रहेकी छन्।
खस–आर्य समूहको पुरुषतर्फ विपिन कुमार आचार्य पहिलो नम्बरमा छन्। उक्त सूचीमा सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने र गायक रमेश प्रसाईंलगायतका नाम अगाडि छन् भने उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय छैटौँ स्थानमा छन्। खस–आर्य महिलातर्फ प्रतिभा रावल पहिलो नम्बरमा रहेकी छन्। उनको पछिपछि विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला) र क्रान्तिशिखा धितालको नाम समावेश छ।
थारु समुदायको पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी शीर्ष स्थानमा छन्। दलित समुदायअन्तर्गत पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो नम्बरमा छन् भने चर्चित गायक प्रकाश सपुत दोस्रो स्थानमा परेका छन्। यस समूहमा प्रकाशचन्द्र परियार, रामजी रामलगायतका नाम पनि छन्। दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा सूचीकृत छन्।
मधेशी समुदायको पुरुषतर्फ डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल पहिलो स्थानमा छन्। मुस्लिम समुदायअन्तर्गत पुरुषतर्फ आसिफ शाह शीर्ष स्थानमा छन् भने मिर्जा रसिद वेग उनको पछाडि छन्। मुस्लिम महिलातर्फ समिना मिया पहिलो नम्बरमा रहँदा मोहना अन्सारी र समिउन निशाको नाम पनि सूचीमा परेको छ। रास्वपाले समानुपातिक बन्दसूचीमार्फत विभिन्न समुदाय, पेशा र पृष्ठभूमिका व्यक्तिलाई राजनीतिक प्रक्रियामा सहभागी गराउने प्रयास गरेको जनाएको छ।