काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि पुस १४ गते २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गरिनेछ । बोलकबोल पुस १४ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ ।
यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू काउन्टरपार्टी मात्र सहभागी हुन पाउने छन् । ऋणपत्रको अवधि एक वर्षको हुनेछ भने ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था छ ।
न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँकै गुणकमा बोल गर्न सकिनेछ । स्वीकृत बोल रकम पुस १५ गते सम्बन्धित काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ । बोल स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार राष्ट्र बैंकमा रहनेछ । निष्कासन हुने ऋणपत्र खुला बजार कारोबारमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

