काठमाडौँ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा गृहमन्त्री र मुख्यमन्त्रीका फरक–फरक अभिव्यक्तिले सहभागीहरू अन्योलमा परेका छन्। गृहमन्त्रालय तथा कर्णाली प्रदेश सरकारको संयुक्त आयोजनामा भएको गोष्ठिमा गृहमन्त्री ओमप्रकाश अर्याल प्रमुख अतिथि र मुख्यमन्त्री यामलाल कँडेल विशेष अतिथि थिए।
कार्यक्रममा गृहमन्त्री अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले स्वतन्त्र, निष्पक्ष र भय–रहित निर्वाचन गराउनु सरकारको प्रमुख कार्यभार भएको उल्लेख गरे। मौसम प्रतिकूलताका कारण केही स्थानमा कठिनाइ आए पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको उनको भनाइ थियो। तर सोही मञ्चमा मुख्यमन्त्री कँडेलले प्रमुख राजनीतिक दललाई पाखा लगाएर निर्वाचन सम्भव नहुने धारणा राखे।
दलहरूबीच सहमति नहुँदासम्म निर्वाचनको वातावरण बन्न नसक्ने भन्दै उनले सरकारलाई यस्तो सोच त्याग्न सुझाव दिए। वर्तमान सुरक्षा अवस्थाले पनि भय–रहित वातावरण नबनेको र सुरक्षाकर्मीमा मनोवैज्ञानिक त्रास रहेको उनको भनाइ थियो। गोष्ठिमा कर्णाली प्रदेशका १० वटै जिल्लाका सुरक्षा चुनौतीको विश्लेषण गरी रणनीति तय गरिने जनाइएको छ। कार्यक्रममा प्रदेश प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।